काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड बीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालिसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका हुन् ।
आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरूको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
बैंक र आध्यान्त बीचको सहकार्यले उद्यमीहरूलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरूको व्यापार व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ-व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।