काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरुलाई चार महिने अभियानमा खटाएको छ ।
ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चारदिन सम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेताहरुलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको हो ।
पार्टीका दुई सय पन्ध्र केन्द्रीय सदस्यलाई देशभरीका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको हो । सबै स्थानीय तहअन्तर्गतका टोल, बुध, वडा, गाउँ नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रस्तरसम्म सङंगठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ । अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको अनुगमनका लागि खटाइने छ ।
तोकिएका अभियन्ताहरुलाई प्रदेशस्तरिय अभिमुखीकरणको आयोजना गरिने भएको छ । जसअनुसार बिराटनगरमा भाद्र १८ गते, जनकपुरमा भाद्र १५ गते, वीरगञ्जमा भाद्र १७ गते, काठमाण्डौमा भाद्र ९ गते, भैरहवामा भाद्र २३ गते, नेपालगञ्जमा भाद्र २४ गते, पोखरामा भाद्र २५ गते र टिकापुर धनगढीमा भाद्र २५ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने छ ।
अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्यहरु, अभियन्ताहरु, केन्द्र्रीय निकाय, विभागका प्रमुख तथा सदस्यहरु, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधिहरु तथा जनसंगठनका पदाधिकरीहरु सहभागी हुनेछन् ।
सो अभियान आगामी भाद्र महिनादेखि सुरु भई मंसिर मसान्तसम्म अभियान समापन हुने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।