काठमाडौं । नेपाल टेलिकमको खुद नाफा गिरावट आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।
गत असार मसान्तसम्म टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १ अर्ब ३१ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी घट्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४.९९ प्रतिशत घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको वित्तीय आम्दानी पनि १६.६८ प्रतिशतले घटेर ६ अर्ब ४८ करोडमा झरेको छ । कुल आम्दानी ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोडमा सीमित भएको छ ।
हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ संचित छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.९८ गुणा छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।