काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर काम अलपत्र पार्ने २८ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । सरकारका विभिन्न निकाय अन्तर्गत निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो । विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भारतको भारत कन्स्ट्रक्सन र नेपालको सिद्धि साई प्रकाश कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ । यी कम्पनीलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय गाइघाट, उदयपुरको सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, विहारको देवनारायण पवन कन्स्ट्रक्सन, नेपालका मैनाचुली निर्माण सेवा, खम्पाचे शेर्पा निर्मार्ण सेवा, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन, एडभेन्चर कन्स्ट्रक्सन, जय वागेश्वरी माता कन्स्ट्रक्सन, ऊर्जा इन्फ्रा एण्ड कन्स्ट्रक्सन, कृशभ निर्माण सेवालाई २ वर्षका लागि कालोसूचीमा राखेका छ ।
त्यसैगरी, बराह निर्माण सेवा, सुवास निर्माण सेवा, थेगिम कन्स्ट्रक्सन, मजदुर कन्स्ट्रक्सन, नाञ्जिला एण्ड आकाश कन्स्ट्रक्सन एण्ड सप्लायर्स,श्री बडी बिल्डर्सलाई २ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, दिपमाला निर्माण सेवा, बीजी कन्स्ट्रक्सन, ए वान खप्तड कन्स्ट्रक्सनलाई डेढ वर्ष र सैफ मेटल एण्ड कन्स्ट्रक्सन, प्रशंसा कन्स्ट्रक्सन, बिभोर निर्माण सेवालाई १५ महिनाका लागि कालोसूचीमा राखेको छ ।
शान्तिदेवी एण्ड कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा, नेशनल कन्स्ट्रक्सन र जीसी ब्रदर्स कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।