add

१० वाणिज्य बैंकको नाफा बढ्यो, कुनले कति कमाए ?






ActPro Nepal

|

२१ साउन, २०८१

|
131

काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा सुधार आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकहरूको नाफा औसतमा १३.४० प्रतिशतले बढेको हो ।

बैंकहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म २० बैंकले कुल ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आवको तुलनामा ७ अर्ब ५७ करोड रुपैयाँ धेरै हो । अघिल्लो आव २०७९/८० मा बैंकहरूले कुल ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आवमा औसतमा एउटा बैंकले ३ अर्ब २० करोड नाफा कमाएका छन् । समग्रमा बैंकहरूको खुद ब्याज आम्दानी, संचालन नाफामा सान्य वृद्धि भए पनि इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार देखिएको हो । साथै नेपाल राष्ट्र बैंकले दिएको सुविधाको कारण बैंकहरूको नाफामा वृद्धि देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साउन मसान्तसम्म पाकेको ब्याजदर गत वर्षकै आयमा गणनाा गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका कारण बैंकहरूको नाफा बढ्न सहयोग पुगेको हो ।

अर्थतन्त्रमा आएको संकुचनका बाबजुद बैंकहरूले नाफा बढाउन सफल भएका छन् । आर्थिक शिथिलताका कारण बैंक्हरूले गत वर्षको कर्जाको माग नहुँदा लक्ष्यको आधा मात्रै व्यवसाय विस्तार गरेका थिए । बैंकहरूले नयाँ कर्जा विस्तार गर्न नसके पनि पुरानो ऋण असुलीमा केन्द्रीत हुँदा ब्यालेन्स सिटमा सुधार ल्याउन सफल भएका हुन् ।

गत वर्ष २० मध्ये १० बैंकको नाफा बढेको छ भने १० बैंकको घटेको छ । अघिल्लो वर्ष कमजोर रहेका प्रभु, कुमारी, हिमालयन, कृषि विकास लगायत बैंकले गत वर्ष उत्कृष्ट कमब्याक गरेका छन् । जसकारण पनि समग्रमा बैंकहरूको नाफा बढ्न पुगेको हो ।

नबिल बन्यो सर्वाधिक कमाउने

गत वर्ष २० बैंक मध्ये नबिल सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । विगतदेखिकै आफ्नो वर्चश्व कायम राख्दै आएको नबिल गत आवमा सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, ग्लोबल आइएमईले दोस्रो धेरै ६ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, इन्भेष्टमेन्ट मेगाले ५ अर्ब १९ करोड र प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष ७ बैंकले ३ अर्बदेखि ४ अर्बको बीचमा नाफा कमाएका छन् । जसमा प्राइम कमर्शियल ३ अर्ब ७७ करोड, एभरेष्ट ३ अर्ब ७० करोड, कृषि विकास ३ अर्ब ६५ करोड, राष्ट्रिय वाणिज्य ३ अर्ब ३९ करोड, स्ट्याण्डर्ड चार्टर्ड ३ अर्ब ३० करोड, लक्ष्मी सनराइज ३ अर्ब ३ करोड र सिद्धार्थ बैंकले ३ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन् ।त्यस्तै, ५ बैंकले २ देखि ३ अर्बको बीचमा नाफा कमाएका छन् । जसमा हिमालयन २ अर्ब ८३ करोड, सानिमा २ अर्ब ३८ करोड, एनएमबी २ अर्ब ३३ करोड, कुमारी २ अर्ब ३० करोड र नेपाल एसबीआइ २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन्।

गत वर्ष ४ बैंकले भने २ अर्बभन्दा कम नाफा कमाएका छन् । जसमा माछापुच्छ्रेले सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । त्यस्तै, सिटिजन्स १ अर्ब ३४ करोड, एनआइसी एशिया १ अर्ब ३८ करोड र नेपाल बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्रभुको छलाङ, एनआइसी खस्कियो

गत वर्ष नाफामा प्रभु बैंकले छलाङ मारेको छ । अघिल्ले वर्षको तुलनामा प्रभु बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेको छ । त्यस्तै, गत वर्ष कुमारीको नाफा ३४५.६७ प्रतिशत, प्राइमको २६७.१९ प्रतिशत, कृषिको १७६.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयनको ८१.६० प्रतिशत, इन्भेष्टमेन्ट मेगाको ३९.७१ प्रतिशत, लक्ष्मी सनराइजको ३२.७९ प्रतिशत, नबिलको १०.०७ प्रतिशत, एभरेष्टको १०.०३ प्रतिशत र नेपाल एसबीआईको २.३५ प्रतिशतले बढेको छ ।

गत वर्ष एनआइसी एशियाको नाफा भने सबैभन्दा धेरै ६८.९१ प्रतिशतले घटेका छ । विगतमा सर्वाधिक नाफा कमाउने बैंक्को सूचीमा शीर्ष ५ भित्र रहँदै आएको एनआइसी यस वर्ष १८औं स्थानमा पुगेको छ ।

त्यस्तै, गत वर्ष नेपाल बैंकको नाफा ५१.८० प्रतिशत, सिटिजन्स २७.९७ प्रतिशत, एनएमबी २७.४९ प्रतिशत, माछापुच्छ्रे २३.०९ प्रतिशत, ग्लोबल आइएमईको १०.१३ प्रतिशतले घटेको छ । सानिमा, चार्टर्ड, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको नाफा १० प्रतिशतभन्दा कमले घटेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.