add

नेप्सेमा फर्कियो उत्साह, यी २१ कम्पनीको मूल्यमा सर्किट






ActPro Nepal

|

१३ साउन, २०८१

|
143

काठमाडौं । सेयर बजारले शतकको छलाङ हानेको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति जारी गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो

आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ बिन्दुमा पुगेको छ । याे ३५ महिना यताकै उच्च हो । आज बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

त्यसपछि खुलेको बजार फेरि १६ सेकेण्ड कारोबार हुँदै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि सम्हालिएको बजार अन्त्यमा ११३ अंकले बढेर बन्द भएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरेको छ । त्यस्तै, मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाइएको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीम बढाएर साढे २ करोड पुर्याउने, कर्जा पुनर्संरचना गर्ने लगायत सुविधा दिएको छ । यी व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा सुधार आउनुका साथै नाफा बढ्ने भएकाले लगानीकर्ता हौसिएका हुन् ।

सूचकसँगै आज कारोबार रकम पनि उत्साहजन रहेको छ । दुई पटकमा गरी १ घण्टा कारोबार स्थगित हुँदा पनि १५ अर्ब ८१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसदिन ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये माइक्रोफाइनान्स बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । जसमा बैंकिङ समूहको सेयर मूल्य झण्डै सर्किट लेभल (९.८९ प्रतिशत)ले बढेको छ । अधिकांश बैंककाे सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सर्वाधिक कारोबार हुने शीर्ष १० कम्पनीमा वाणिज्य बैंकहरू ६ वटा रहेका छन् । जसमा कुमारी बैंकको सर्वाधिक ३६ करोड को सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया ३४ करोड ८१ लाख, प्राइम कमर्शियल साढे २७ करोड, ग्लोबल आइएमई साढे २६ करोड, कृषि विकास साढे २५ करोडको सेयर किनबेच भएको छ ।

२१ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

नेप्सेले शतकको छलाङ हानेको दिनमा आज २१ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबीआइ, सानिमा, एनएाबी, प्रभु, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम, कृषि विकास, नेपाल, उपकार लघुवित्त र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, एभरेष्ट बैंक, लक्ष्मी सनराइज, कुमारी, एनआइसी एशिया, नबिल, हिमालयन, निफ्रा, माछापुच्छ्रे र सिद्धार्थ बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.