add

साउनमा १३ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ?






ActPro Nepal

|

३२ असार, २०८१

|
155

काठमाडौं । साउन महिनाका लागि १३ वटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै, दुई बैंकले बढाएका छन् भने ५ वटाले असारकै ब्याजदर स्थिर राखेका छन् ।

चालु वर्षको कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि थप घटाएका हुन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अहिले झण्डै ७ खर्ब रुपैयाँ तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

असारकोे तुलनामा साउनमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.१४ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.१९ प्रतिशत बिन्दुले घटाएका छन् । असारमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.८८ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७४ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर असारमा ५.६७ प्रतिशत रहेकोमा साउनमा ५.४८ प्रतिशतमा झरेको छ ।

साउनका लागि १३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जसमा हिमालयन बैंकले सबैभन्दा धेरै व्यक्तिगततर्फ ०.७५ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.५ प्रतिशत बिन्दुले घटाएको छ । त्यस्तै, प्रभु, नेपाल र माछापुच्छ्रेले व्यक्तिगत तर्फ ०.५ प्रतिशत बिन्दुले घटाएका छन् ।

त्यस्तै, प्राइम कमर्शियल, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबी, एनआइसी एशिया, सिटिजन्स, कुमारी र राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

साउनमा सरकारी स्वामित्वको कृषि विकास बैंक र निजी क्षेत्रको एभरेष्टले निक्षेपको ब्याजदर बढाएका छन् । जसमा कृषिले व्यक्तिगततर्फ सर्वाधिक ०.६३ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । त्यस्तै, एभरेष्टले व्यक्तिगत र संस्थागत दुवै मुद्दतीको ब्याज ०.५५ प्रतिशत बिन्दुले बढाएको छ ।

साउनमा नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, लक्ष्मी सनराइज र नेपाल एसबीआइले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

साउनमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.२० प्रतिशत बिन्दुसम्म फरक भएको छ । हिमालयनले सर्वाधिक ७.५ प्रतिशत र कृषि विकासले सबैभन्दा कम ६.२९८५ प्रतिशत ब्याजदर दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार दशौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि गत असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

गत साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.