काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम बढेको छ । असार मसान्त नजिकिएसँगै सरकारले खर्च बढाउँदै दैनिक अर्बौं निक्षेप थपिन थालेको हो ।
दैनिक निक्षेप थपिएसँगै बैंकिङ प्रणालीको कुल निक्षेप ६३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार १२ गते बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ६३ खर्ब २ अर्ब पुगेको हो । यो नेपाली बैंकिङ इतिहासममा हालसम्मकै धेरै हो ।
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षे देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकारभन्दा पनि ठूलो रहेको छ । बैंकमा रहेको निक्षेप जीडीपीको ११७.११ प्रतिशत हो । पछिल्लो तथ्यांक अनुसार मुलुकको जीडीपी ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ।
कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्रै ५५ खर्ब ८१ अर्ब रुपैयाँ छ भने अन्य संस्थामा ७ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।
रेमिटेन्समा आप्रवाहमा उल्लेख्य वृद्धि, आयात घट्नु, सरकारले पूँजीगत खर्च बढाउनु लगायत कारणले निक्षेप बढेको हो । निक्षेप एकोहोरो बढे पनि अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग भने बढ्न सकेको छैन ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । जसमा वाणिज्य बैंकहरूको ४५ खर्ब ५१ अर्ब र अन्य संस्थाको ५ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ ।
निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । हाल समग्रमा सीडी रेसियो ७९.५१ प्रतिशत रहेको छ । राष्ट्र बैंकले सीडी रेसियोको सीमा ९० प्रतिशत तोकेको छ । यस आधारमा अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) रहेको छ ।
राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्र तर्फ साढे ११ प्रतिशत अर्थात् ५ खर्ब ६० अर्ब बढी कर्जा विस्तारको लक्ष्य राखे पनि सो हासिल नहुने देखिएको छ । चालु आवको १० महिनामा लक्ष्यको आधा पनि कर्जा विस्तार हुन सकेको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।