काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारीमा जुटिरहेको छ । राष्ट्र बैंकले साउन दोस्रो सातासम्म सार्वजनिक गर्ने गरी मौद्रिक नीति बनाइरहेको हो ।
गभर्नर महाप्रसाद अधिकारीको लागि यो आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति हो । यसअघि कसिलो मौद्रिक नीति ल्याउँदै आएका गभर्नर अधिकारीलाई यसपटक खुकुलो नीति ल्याउने पर्ने दबाब छ । शिथिल अर्थतन्त्र चलायमान बनाउन कर्जाको माग बढाउनुपर्ने चुनौती छ ।
यसैबीच, अघिल्ला मौद्रिक नीतिहरुमा आलोचित हुँदै आएका गभर्नर अधिकारीले यसवर्ष भने केही खुकुलो नीति ल्याउने संकेत गरेका छन् । विगतमा बजेटलाई सहयोग गर्नेभन्दा असहयोग गर्ने खालको मौद्रिक नीति ल्याएको आरोप खेप्दै आएका अधिकारीले यसपटक बजेटसँग तालमेल हुने बजेट ल्याउने बताएका छन् ।
उनले यसपटक सरकारले ल्याएको बजेटले लिएको नीतिलाई समर्थन गर्ने र मुलुकको समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित आगामी आवको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले समग्र वित्तीय र मौद्रिक स्थायित्व कायम गर्नेगरी आगामी साउन दोस्रो साताभित्र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् ।
उनले भने, ‘देशको अर्थतन्त्रलाई हित हुनेगरी साउनको पहिलो वा दोस्रो सातामा मौद्रिक नीति आउँछ । सबै क्षेत्रबाट आएका सकारात्मक सुझाव समेटेर समग्र वित्तीय स्थायित्व कायम हुनेगरी मौद्रिक नीति ल्याउँछौँ ।’
कोभिड– १९ महामारी र रुस–युक्रेन तनावका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको र नेपालमा पनि बाह्य क्षेत्र सन्तुलन बिग्रिँदा कडा खालको मौद्रिक नीति जारी गर्नुपरेको गभर्नर अधिकारीको भनाइ छ ।
गत आर्थिक वर्ष २०७९/८० को अन्तिम त्रैमास र चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआतबाटै मौद्रिक नीतिका व्यवस्था लचिलो बनाउँदै लगिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि त्यसलाई निरन्तरता दिइने बताए। अहिले मुलुकको अर्थतन्त्र सबल अवस्थामा पुगिसकेको भए पनि सुधारले अपेक्षित गति भने लिन नसकेको उनले उल्लेख गरे ।
‘हामी सुधारोन्मुख छौँ तर, समानरुपले सुधार गर्न नसकेको यथार्थ हो । ठूलो जनसङ्ख्या देश बाहिर रहेपछि आन्तरिक माग र खपत घटेको छ । निर्माण क्षेत्रमा देखिएको शिथिलताले बहुआयामिक असर देखाएको छ,’ गभर्नर अधिकारीले भने, ‘आर्थिक र मौद्रिक हिसाबले हामी सबल छौँ । मुद्रास्फीति वाञ्छित सीमाभित्रै कायम भएको छ । बाह्य क्षेत्रमा अहिले स्थिरता देखिएको छ र समग्र वित्तीय स्थायित्व कायम गर्न सफल भएका छौँ ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।