add

बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आयो






ActPro Nepal

|

१ असार, २०८१

|
227

काठमाडौं ।  पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रूपमा मात्रै सञ्चालित बन्दीपुर केबलकार आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

व्यावसायिक रूपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केबलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा आजदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए ।

पोख्रेलले भने, ‘वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यावसायिक रुपमा सञ्चालन गर्न लागेका हौँ ।’

टीयूभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टीयूभी नर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको थियो ।

तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुला गरिएको हो,’ उनले भने ।

‘केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छौँ,’ अध्यक्ष शर्माले भने । बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म १ हजार ७०० मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रतिघण्टा ५०० यात्रु बोक्न सक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.