add

एमसीसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनसँग भेट, पूर्व निर्धारित समयमै कामसक्ने प्रतिबद्धता






ActPro Nepal

|

२२ जेठ, २०८१

|
268

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे ।

‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ,’ उनले भने । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत समाधान हुने विश्वास मन्त्री पुनले दिलाए ।

उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे अवगत गराएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए ।

झण्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ ।

सम्झौताअनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसीसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकार आफ्नो तर्फबाट लगानी गर्नेछ ।

एमसीसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्नेछ । ३१५ किलोमिटर लामो डबल सर्किट ४०० केभी प्रसारण लाइन निर्माण हुनेछ ।

यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भुमहीमा सब–स्टेशन निर्माणको काम अघि बढेको छ । यस्तै रातमाटेबाट काठमाडौंको लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन ४०० केभी सब–स्टेशन र मकवानपुरको हेटौंडामा रहेको प्राधिकरणकै ४०० केभी सब–स्टेशन दुवैमा रातमाटेबाट विद्युत प्रवाह गरिनेछ ।

४०० किलोभोल्ट उच्च क्षमताको विद्युत प्रवाह गर्न सक्ने यो नेपालको हालसम्मकै ठूलो प्रसारण लाइन हो । आयोजनाअन्तर्गत ८५६ वटा टावर बन्नेछन् । काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारण लाइनले छुन्छ ।

परियोजनाअन्तर्गत ३०५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भार र गुणस्तर सुधारकोे काम हुनेछ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्खाचाँखीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ ।

एमसीसीअन्तर्गत मध्य पहाडी पुष्पलाल लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विस्तारको काम करिब सकिएको छ ।

नेपाल र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसदले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.