काठमाडौं । चौधरी ग्रुप (सीजी फुड्स)अन्तर्गतको वाइवाइ चाउचाउले टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार नेपाली क्रिकेट टिम जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा वाइवाइले नगद ३० लाख रुपैयाँ पुरस्कार दिनेछ।
यस्तै, कम्पनीले प्रत्येक रन बनाएबापत १ हजार रुपैयाँ, प्रत्येक चौकाबापत ८ हजार रुपैयाँ, प्रत्येक छक्काबापत १२ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
त्यसैगरी, प्रत्येक विकेटबापत १५ हजार रुपैयाँ, प्रत्येक अर्धशतकबापत ५० हजार रुपैयाँ, प्रत्येक शतकबापत १ लाख रुपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ ।
यो पुरस्कार घोषणाले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ ।
चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्सले विगत २० वर्षदेखि नेपाली यू–१९ क्रिकेट प्रायोजन गर्दै आएको छ । ‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टी–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ । हाम्रा खेलाडी त्यसका लागि योग्य छन् । तैपनि उनीहरूको हौसला अझै माथि उठाउनु हाम्रो कर्तव्य हो,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने ।
वाइवाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको उनको भनाइछ । ‘नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो’ उनले भने ।
नेपालले टी–२० विश्वकपको शृंखला अन्तरगत आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग मंगलबार खेल्दैछ । त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।