add

भारतमा विद्युत् निर्यात सुरू, दैनिक ४०० मेगावाट बेच्दै प्राधिकरण






ActPro Nepal

|

१८ जेठ, २०८१

|
295

काठमाडौं । यस वर्ष भारततर्फ विद्युत् निर्यात सुरू भएको छ । खोला तथा नदीहरूमा पानीको बहाव बढ्न थालेसँगै विद्युत् उत्पादन वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्न सुरू गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार देशभित्र खपत गरी बढी भएको बिजुली सोमबार (जेठ १४ गते) रातिदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतस्पर्धी दरमा बिक्री सुरू भएको छ ।

खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको जानकारी दिए ।

‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ । विगत सात/आठ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर चार/साढे चार करोड युनिट पुगेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार दुई सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ । निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेको उनले बताए ।

द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब दुई सय मेगावाट विद्युत् बिक्री गर्न पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे।

केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । कुल ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुनदेखि अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको हो ।

एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ । ६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट पाँच ८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेशनबाट परवानीपुर सबस्टेशनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार गर्न एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे ।

पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटीएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ । एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरूमा आपूर्तिको समस्या छ ।

कन्डक्टर बदल्ने काम केही दिनमा सकिने विद्युत् प्राधिकरणले जनाएको छ । त्यसपछि हालको समस्या समाधान हुनेछ । दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर एक सय ३२ केभी प्रसारण लाइनका क्षमता दुई गुणा बढ्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ ।

हिउँदमा १५ अर्बको विद्युत् आयात

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न रु १५ अर्ब २१ करोडको विद्युत् भारतबाट आयात गरेको छ । सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो । यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ ।

गत वर्षको जेठदेखि यस वर्षको हालसम्म रु १५ अर्ब ६२ करोड बराबरको विद्युत् प्राधिकरणले भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म रु १३ अर्ब ४७ करोडको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आवमा निर्यातभन्दा रु एक अर्ब ७४ करोडको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य नौ रुपैयाँ दुई पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालू आवमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए।

‘केही वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो । पछिल्ला तीन वर्षदेखि भने विद्युत्को निर्यात सुरु गरेता पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘चालु आवमा निर्यातभन्दा आयात रु एक अर्ब ७४ करोडले बढी देखिएको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.