काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा बागमती प्रदेशको सबैभन्दा धेरै एकतिहाई बढी योगदान रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आव २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान सम्बन्धी अध्ययले यस्तो देखाएको हो ।
कार्यालयले चालु आवमा देशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरेको छ । त्यसमा बागमती प्रदेशको हिस्सा ३६.४ प्रतिशत रहको छ । बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रुपैयाँ रहेको कार्यालयको तथ्यांक छ ।
त्यस्तै, अर्थतन्त्रमा दोस्रो धेरै योगदान कोशी प्रदेशको १५.८ प्रतिशत रहको छ । कोशीके अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ।
त्यसैगरी, अर्थतन्त्रमा लुम्बिनी प्रदेशको १४.३ प्रतिशत, मधेश प्रदेशको १३.१ प्रतिशत, गण्डकी प्रदेशको ९.१ प्रतिशत, सुदूर पश्चिम प्रदेशको ७.१ प्रतिशत र कर्णाली प्रदेशको सबैभ्न्दा कम ४.३ प्रतिशत योगदान रहने कार्यालयको प्रक्षेपण रहको छ ।
कार्यालयका अनुसार अर्थतन्त्रको आकार क्रमशः मधेश प्रदेशको ७ खर्ब ४८ अर्ब, गण्डकी, ५ खर्ब १७ अर्ब, लुम्बिनी ८ खर्ब १४ अर्ब, सुदूरपश्चिम ४ खर्ब ४ अर्ब र कर्णालीको २ खर्ब ४४ अर्ब रुपैयाँको रहेको छ ।
गत आव २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा मात्र परिवर्तन भएको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदूर पश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ।
आर्थिक वृद्धिदर भने गण्डकीको धेरै
जीडीपीमा योगदानका आधारमा बागमती प्रदेश अगाडि रहे पनि आर्थिक वृद्धिदर भने गण्डकी प्रदेशको धेरै रहको छ । चालु आव २०८०/८१ को प्रारम्भिक अनुमान बमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर गण्डकीको सबैभन्दा धेरै ४.५५ प्रतिशत हुने कार्यालयको प्रक्षेपण छ ।
कार्यालयका अनुसार चालु आवमा आर्थिक वृद्धिदर लुम्बिनी ४.०५ प्रतिशत, बागमती ३.९६ प्रतिशत, मधेशको ३.५१ प्रतिशत, सुदूरपश्चिमको ३.४१ प्रतिशत र कर्णालीको सबैभन्दा ३.३९ प्रतिशत हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।