खोटाङ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङले आज आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि’ नामक अन्तरक्रियामा डिआइजी खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले सम्भव नहुने भन्दै सबैको हातेमालो आवश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय खोटाङको सभाहलमा आयोजित अन्तरक्रियामा डिआइजी खापुङले जनताले उठाएका जायज माग तथा विषयलाई सम्बोधन गर्न हातहतका प्रहरीलाई निर्देशनसमेत दिए । “हामी प्रहरी जनताका सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धतासहित भर्ना भएका हौँ । जनताले उठाएका जायज माग तथा विषयलाई प्रहरीले सम्बोधन गर्न सक्नुपर्छ”, उनले भने, “प्रहरीले जनताको अपेक्षा पूरा गर्न सकेमात्र उनीहरूले हामीबाट शान्ति सुरक्षाको महसुस गर्छन् । समाजमा शान्ति सुरक्षा कायम गर्न हरेक विषयमा प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नुपर्छ ।”
समाजमा हुने आपराधिक घटना जनचेतना अभावका कारण भएको जिकिर गर्दै डिआइजी खापुङले जिल्लामा क्रियाशील राजनीतिक दलहरुले समाजमा जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । “जनचेतना अभावले समाजमा अहिंसा, आपराधिक क्रियाकलापलगायत कानुनले बर्जित गरेको घटना हुने गर्दछ । प्रहरीले अहिलेसम्म निःशुल्क रूपमा सचेतनामूलक कार्यक्रम गरिरहेको छ । जनचेतना फैलाउने काम प्रहरीको मात्र ठेक्का होइन । यो सबैको दायित्वभित्र पर्छ”, उनले भने, “सबै राजनीतिकको गाउँगाउँमा सङ्गठन छन् । उनीहरुलाई परिचालन गर्न सके नागरिकहरु सचेत हुन्छन् । यसले राजनीतिक दलका कार्यकर्ताहरू क्रियाशील हुने अवसर पनि मिल्छ । नागरिकहरुसमेत सचेत हुन्छन् ।”
डिआइजी खापुङले प्रहरीको भूमिकाप्रति प्रशंसा नभइ रचनात्मक आलोचना गर्न कार्यक्रममा सहभागीलाई आग्रहसमेत गरे । “प्रहरीको भूमिकाप्रति सञ्चारमाध्यमले आलोचना गर्नुपर्यो । सचेत नागरिकले आलोचना गर्नुपर्यो । अनिमात्र प्रहरीले सच्चिने अवसर पाउँछ । प्रशंसाले प्रहरीको उद्देश्य पूरा हुँदैन”, उनले भने, “आलोचना भन्दैमा प्रहरीमाथि आक्षेप लगाउनु भनेको होइन । रचनात्मक आलोचना गर्नुपर्यो भनेको हो । रचनात्मक आलोचनाले प्रहरीहरू सचेत भएर जनताको सेवामा समर्पित हुन्छन् ।”
डिआइजी खापुङले पछिल्लो समय देशमा साइबर क्राइम (विद्युतीय अपराध) सम्बन्धी घटना वृद्धि भइरहेको भन्दै सचेत रहन आग्रह गरे । “विद्युतीय अपराधका घटनाहरू दिनानुदिन वृद्धि भइरहेका छन् । यसले धेरैको घरबार बिग्रिएको छ । धेरैको सम्पत्ति सकिएको छ । धेरैका छोरीचेली पीडित भएका छन्”, उनले भने, “विद्युतीय अपराधका घटनाबाट जोगिन आफैँ सचेत हुनुपर्छ । यो विषयमा प्रहरीले पनि भर्खरैमात्र मुद्दा हेर्न थालेको छ । घटना भएर प्र्रहरीमा पुग्नुभन्दा आफैँ सचेत हुनु उत्तम उपाय हो ।”
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।