add

नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर छ : अर्थमन्त्री






ActPro Nepal

|

६ वैशाख, २०८१

|
247

वासिङटनडीसी । अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।

अमेरिकी (यूएस)चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटनडीसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे ।

भू-परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो ।

नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए ।

निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे ।

पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितीले उच्च बिन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरू बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए । मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानूनमा संशोधन गर्न लागेको जानकारी दिए ।

यस्तै, कम्पनी दर्ता र लगानीको सुरुआत तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको थियो । नेपाल कानूनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानून र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए । सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताए ।

लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरूको सहभागिता हुने विश्वास गरिएको बताए ।

अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कस्यपससहित प्रतिष्ठित व्यवसायीहरू तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआइडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.