काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन्।
बागमती प्रदेश सभा बैठकमा सोमबार मुख्यमन्त्री जम्कट्टेलले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ। उनको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका छन्।
मुख्यमन्त्री जम्कट्टेललाई नेकपा (माओवादी केन्द्र) का २१, नेकपा (एमाले) का २७, नेकपा (एकीकृत समाजवादी) का सात र हाम्रो नेपाली पार्टीका एक जना सांसदले मत दिएका छन्।
त्यस्तै, नेपाली कांग्रेसले विपक्षमा मतदान गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका सांसद तटस्थ बसेका छन्।
२०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले यसअघि दुई पटक विश्वासको मत लिएका थिए। उनले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत पाएका थिए।
नयाँ गठबन्धन बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो। त्यससँगै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक २०७९ चैत १०मा विश्वासको मत लिएका थिए। त्यतिवेला कांग्रेसले समर्थन गरेको थियो।
अहिले फेरि नयाँ गठबन्धन बनेसँगै कांग्रेसले समर्थन फिर्ता लिएको थियो। यस पटक पुनः एमालेले जम्कट्टेललाई विश्वासको मत दिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।