काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा बिहीबारदेखि सुरु हुँदैछ। एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा आजदेखि चैत २७ गतेसम्म चल्नेछ।
एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई/दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एक/एक जना छन्।
एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन्।
आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।