काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ औं महिना (साउन-माघ) पूरा भएको छ । यसअविधमा विकास (पूँजीगत) खर्च भने करिब २१.४ प्रतिशत मात्रै छ ।
सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ विकास बजेट अर्थात् पूँजीगत खर्चको लक्ष्य लिएको थियो । सात महिनामा जम्मा २१.४ प्रतिशत मात्रै खर्च भएको हो ।
यस्तै चालु खर्चतर्फ लक्ष्यको ४४.५८ प्रतिशत अर्थात् पाँच खर्ब तीन अर्ब ५९ करोड रुपैयाँ खर्च भएको छ । विभिन्न क्षेत्रमा लगानी र ऋण तिर्न विनियोजन भएको बजेट अर्थात् वित्तीय व्यवस्थातर्फ ३७.१२ प्रतिशत अर्थात् एक खर्ब १२ अर्ब २५ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
समग्रमा सात महिनामा छ खर्ब ७९ अर्ब ३८ करोड अर्थात् ३९.२१ प्रतिशत बजेट खर्च भएको छ ।
यस्तै आम्दानीतर्फ राजस्व र अनुदान गरेर १४ खर्ब ७२ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा सात महिनामा जम्मा पाँच खर्ब ८८ अर्ब २३ करोड रुपैयाँ मात्रै उठेको छ । यो लक्ष्यको ४०. १७ प्रतिशत हो ।
तर जति गर्दा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसकेको भन्दै सरकारले हिजो मात्रै बजेट संशोधन गरेको छ । अर्थ मन्त्रालयले बजेटको आकार १२ दशमलव ६२ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ३० अर्ब २६ रुपैयाँमा झारेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।