add

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ लम्किए पनि जोखिम कायमै : आइएमएफ






ActPro Nepal

|

२१ माघ, २०८०

|
258

वासिङ्टन । आइएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आइएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताइन् ।

वासिङ्टन डीसीमा रहेको आइएमएफको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रुस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताएकी हुन् ।

यस्तै, आइएमएफले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिको अनुमान ३.१ प्रतिशतमा पुर्याएको छ ।  सन् २०२३ को अक्टोबरमा गरिएको अनुमानभन्दा यो ०.२ प्रतिशत बढी हो । मध्यपूर्वको ढुवानी अवरोधबारे बोल्दै उनले जनवरीमा स्वेज नहरमा जाने कार्गो एक वर्ष अघिको तुलनामा ४३ प्रतिशतले घटेको बताउँदै यसले सम्बन्धित मुलुकको अर्थतन्त्रमा धक्का दिएको बताएकी छन् ।

उनले मौद्रिक नीतिमा निर्धारित समयभन्दा अगाडि तथा पछाडि हुन सक्ने जोखिमका साथै विस्तारित अवधिका लागि उच्च ब्याजदरहरू कायम राख्ने जोखिम उल्लेख गरिन् । आवश्यकभन्दा लामो समयसम्म ब्याजदरहरू राख्ने जोखिम अमेरिकी अर्थतन्त्रका लागि मात्र नभई विश्वव्यापी अर्थतन्त्रका लागि समेत जोखिम रहेको उनले बताइन् ।

जर्जिएवाले पछिल्लो समय उदीयमान अर्थतन्त्रहरूले मुद्रास्फीतिलाई लक्ष्यमा ल्याएको बताउँदै  परिणामस्वरुप निर्धारित समय अगाबै कम ब्याजदरमा सर्ने र अमेरिकी दर उच्च रहेमा यसले विनिमय दरहरूलाई असर गरी अन्य देशलाई नकारात्मक प्रभाव छोड्नसक्ने उल्लेख गरिन् ।

चिनियाँ अर्थतन्त्रका बारेमा जर्जिएवाले सिन्ह्वालाई चिनियाँ अर्थतन्त्रले सन् २०२३ मा अपेक्षाभन्दा माथि प्रदर्शन गरेको उल्लेख गरिन् । उनले घरजग्गा क्षेत्रको तनावलगायत चुनौतीहरूलाई निर्णायक रुपमा सम्बोधन गर्नु र स्थानीय सरकारको ऋण व्यवस्थापन गर्नु चीनको आर्थिक गति कायम राख्नका लागि महत्वपूर्ण रहेको बताइन् ।

सम्पत्ति क्षेत्रमा चिनियाँ सरकारले केही कदम चालेको जर्जिएवाले बताउँदै हरित अर्थतन्त्रप्रति चीनको प्रतिबद्धता खासगरी विद्युतीय सवारीजस्ता क्षेत्रहरूमा उल्लेखनीय रहेको उनले बताइन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.