काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दरबार हत्याकाण्डपछि छानबिन आयोग गठन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहले अवरोध गरेको बताएका छन् ।
बिहीबार समाजवादी प्रेस संगठन, धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलहरूले राजदबारको हत्याकाण्डको छानिबन गरिदिएनन् भनेर हिँडिरहेको आरोप लगाए ।
‘त्यतिबेला मैले हत्याकाण्डको अनुसन्धान गर्न छानबिन आयोग गठन गरौँ भनेर भन्दा ज्ञानेन्द्रले मानेका थिएनन् । तर, पछि तत्कालीन राजपरिषद्का प्रमुख प्रकाश राणाभाट र प्रधानन्यायाधीश केशव उपाध्यायसहितको छानबिन आयोग बनाइयो । त्यो आयोग बनाउन मेरो भूमिका अहम थियो,’उनले भने ।
फरक प्रसंगमा अध्यक्ष नेपालले सत्ता गठबन्धनको सरकार पाँच वर्ष नै टिक्ने दाबी गरे । प्रचण्डपछि को प्रधानमन्त्री बन्छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले को प्रधानमन्त्री हुने भन्ने विषय गौण रहन दिन आग्रह गरे ।
‘प्रचण्डजी पछि को प्रधानमन्त्री हुने भन्ने विषय अहिले गौण रहदिनुस् । अहिले सरकारले कतिपय राम्रा काम गरिरहेको छ । राम्रो काम गर्छु भनेर भनिरहेकाले पनि अहिले प्रचण्डजीलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।