add

वैदेशिक व्यापार घट्दा पनि भन्सार राजस्व २२ अर्ब बढ्यो






ActPro Nepal

|

१४ माघ, २०८०

|
278

काठमाडौं । मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कुल राजस्व सङ्कलन भने बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु १ खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०/८१ को सोही अवधिमा रु २ खर्ब १० करोड राजस्व सङ्कलन भएको छ । जुन ६.३४ प्रतिशतले वृद्धि भएको हो।

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ । मुलुकको कुल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन्।

उक्त वस्तुबाट गत आवको पुस मसान्तसम्म रु ६६ अर्ब ५६ करोड (कुल राजस्वको ३५.४ प्रतिशत) राजस्व सङ्कलन भएकामा यस आवको पुस मसान्तसम्म रु ८२ अर्ब ७८ करोड (कुल राजस्वको ४१.४ प्रतिशत) सङ्कलन भएको छ । गत आवको तुलनामा सो राजस्व २४.४ प्रतिशतले बढी हो।

गत आव पुस महिनासम्मको तुलनामा रु २० अर्ब ६९ करोड बढी राजस्व उठेको छ जुन रकम अहिलेसम्म सङ्कलन भएको राजस्वको १०.३ प्रतिशत राजस्व हो।

भन्सार विभागको चालु आवको पुस मसान्तसम्म रु ३ खर्ब ६ अर्ब १७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कुल रु २ खर्ब १० करोड राजस्व सङ्कलन गरी लक्ष्यको तुलनामा ६५.३६ प्रतिशत राजस्व सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यमा ३१.८८ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

विभागले सङ्कलन गर्ने राजस्वमा मुख्यतः भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको हिस्सा रहेको छ । भन्सार प्रशासनबाट चालु आवको पुस मसान्तसम्म सङ्कलित कूल राजस्वमध्ये रु ८८ अर्ब ८० करोड भन्सार महसुल, रु ८७ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर, रु १८ अर्ब १० करोड अन्तःशुल्क सङ्कलन भएको जनाएको छ।

त्यस्तै, रु २ अर्ब ४१ करोड सडक मर्मत तथा सुधार दस्तुर, रु तीन अर्ब ३९ करोड सडक निर्माण तथा सम्भार दस्तुरबापत सङ्कलन भएको छ । जुन सोही अवधिमा सङ्कलित राजस्वमध्ये भन्सार महसुलको हिस्सा ४४.१ प्रतिशत, मूल्य अभिवृद्धि करको ४३.७ प्रतिशत, अन्तःशुल्क ९.१ प्रतिशत, सडक मर्मत तथा सुधार दस्तुर १.२ प्रतिशत र सडक निर्माण तथा सम्भार दस्तुर १.७ प्रतिशत रहेको छ।

विभागको तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा नेपालले कुल रु ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । सोमध्ये रु ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रु ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ।

उक्त व्यापारलाई विश्लेषण गर्दा नेपालले सो अवधिमा करिब रु ७ खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । पुस मसान्तसम्ममा रु ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । गत आवको पछिल्लो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ३.०९ र निर्यात ७.२३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार ३.४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा २.६२ प्रतिशतले घटेको छ।

नेपालले सबैभन्दा धेरै भारतसँग रु ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहोरेको छ । छ महिना अवधिमा भारतबाट रु ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने रु ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै छ।

नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग रु एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग रु १२ अर्ब २६ करोड, युक्रेनसँग रु नौ अर्ब ९६ करोड र मलेसियासँग रु आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ।

नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्तराज्य अमेरिका पहिलो स्थानमा छ । चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालले अमेरिकाबाट रू ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा रू आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ । अर्थात् रू ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ।

पछिल्लो ६ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा रु ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, रु ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, रु २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.