काठमाडौं । नेपाली अर्थतन्त्रमा अझै पनि सुधार नदेखिएको एक प्रतिवेदनले देखाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले उद्योग व्यवसाय स्तरमा गरेको एक सर्वेक्षणको प्रतिवेदनले यस्तो देखाएको हो ।
परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको उल्लेख छ ।
सीएनआईले भन्यो,‘समग्र बजार माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ ।’
परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो। सोही सर्वेक्षणको दोस्रो संस्करणका रूपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो ।
ताजा सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको सीएनआईले जनाएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ प्रतिशतले सङ्कुचन आएको छ ।
यसै गरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आवको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ । गत आवको तुलनामा यो कूल ३०.५४ प्रतिशतले खुम्चिएको छ । अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्ष नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत् रहेको देखिएको छ ।
सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको सिएनआईको बुझाई छ ।
सिमेन्टको समग्र माग आधा घट्यो, कारोबार रकमा पनि क्रमशः सङ्कुचन
क्षेत्रगत रूपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले सङ्कुचन आएको छ । अघिल्लो वर्षको सोही समयमा यो ४०.१७ प्रतिशतले घटेको थियो ।
अघिल्लो आव २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ प्रतिशतले गिरावट आएको सीएनआईले जनाएको छ । यसै गरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले सङ्कुचन आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको देखिन्छ ।
आव २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२ प्रतिशतले सङ्कुचन आएको सीएनआईले जनाएको छ । परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आवमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आवको पहिलो त्रैमासमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन् ।
निर्माण व्यवसायमा पनि छैन सुखद, दोहोरो अङ्कले घट्यो माग
सर्वेक्षण अनुसार निर्माण व्यवसाय पनि सुखद देखिएको छैन । निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको सीएनआईले जनाएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३ प्रतिशतले घटेको थियो । गत आव २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले सङ्कुचन आएको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेको थियो ।
चालु आवको सोही अवधिमा थप २०.८० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । गत आव २०७८/७९ सँगको तुलनामा चालु आवमा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५.४२ प्रतिशतले सङ्कुचन आएको देखिएको छ ।
यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए ।
एफएमसिजी क्षेत्र पनि नकारात्मक
अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५० प्रतिशत ले बढेको थियो । तर, यस वर्ष १७.७० प्रतिशतले गिरावट आएको सीएनआइएको प्रतिवेदनमा उल्लेख छ । यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४ प्रतिशतले सङ्कुचन आएको बताइएको छ ।
यसै गरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ प्रतिशतले बढेको थियो । तर, चालु आवको सोही अवधिमा १८.५० प्रतिशतले घटेको देखिन्छ । आव २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशतले सङ्कुचन आएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए । चालु आवको पहिलो त्रैमास यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।