मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरू उत्साहित भएका छन् ।
गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे ।
भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेको र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए । यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनको भनाइ छ ।
अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएको तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गाउँपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ ।
गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रति केजी एक सय निर्धारण गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।