add

घोडेपानी र पुनहिलमा बढे विदेशी पर्यटक






ActPro Nepal

|

१८ मंसिर, २०८०

|
107

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा विदेशी पर्यटकको संख्या बढेको छ।

गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र  पुनहिल क्षेत्रमा १२ हजार ३६१ विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ।

घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाईमा पर्ने गरेको छ। साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गरेको पर्यटन पर्यटक प्रहरी कार्यालय घोडेपानीका इन्चार्ज प्रहरी सहायक निरिक्षक तारा बुढा मगरले जानकारी दिए।

उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रे हुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्यांक कार्यालयले राख्दै आएको छ।

पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्यांक राख्ने गरिएको छ। घोडेपानीमा पर्यटक याममा मासिक तीन हजारम्म आन्तरिक पर्यटकले  भ्रमण गर्छन्। ​

घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटक आउँछन्। विगतका वर्षको तुलनामा यो वर्ष पर्यटक याममा कम संख्यामा विदेशी पर्यटकहरु आएको घोडेपानीका होटल व्यवसायी डमबहादुर गर्बुजा पुनले बताए। 

‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्। धुलो, धुँवाको कारण विदेशी पर्यटक आउने क्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ’–होटल व्यवसायी गर्बुजाले भने। 

४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल रहेका छन्। अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन्। घोडेपानीका होटलमा दैनिक १ हजार २०० जनासम्मलाई राख्न सक्ने क्षमता छ। समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।

पुनहिलबाट हिमश्रृङ्खला र सूर्योदयको दृश्यावलोकन गर्न पाइन्छ। यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिमचुचुरा नजिकबाट अवलोकन गर्न सकिन्छ। मनोरम प्राकृतिक दृश्य अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा पार्ने गरेका छन्।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.