add

कांग्रेस नेताहरूको अठोट : व्यवस्था हैन नेतृत्व फेरेर अवस्था सुधार्छौं






ActPro Nepal

|

९ मंसिर, २०८०

|
251

गुल्मी  । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको नेतृत्व फेरेर देशको अवस्था फेर्ने अठोट व्यक्त गरेका छन् । नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रभावशाली नेता डा. चन्द्र भण्डारीलगायतले अहिले अवस्था फेर्नेभन्दा पनि नेतृत्व फेर्ने आवश्यकता रहेकोमा जोड दिए ।

उनीहरूले व्यवस्थामा दोष नभएको र यही व्यवस्थामा मात्रै सुधारको विकल्प हुने भएकाले सुधार तर्फ लाग्नु पर्ने बताए।

महामन्त्री थापाले मूर्ति चोर्नेले हाम्रो धर्म जोगाइदिन्छ भन्दै भ्रममा परेकाहरूलाई कांग्रेसले भ्रममुक्त गराउनु पर्ने खाँचो औँल्याए । उनले राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा धेरै विकास भएको तथ्यांकहरू प्रस्तुत गर्दै अराजक समूहले चेतनाको सट्टामा उत्तेजनाको राजनीति गर्न खोजेको दाबी गरे।

महामन्त्री थापाले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउन नपाइने, तर गणतन्त्रमा गणतन्त्र र नेताकै बारेमा खरो आलोचना गर्न पाइने भएकाले नै गणतन्त्र धेरै उत्तम भएको तर्क गरे । उनले कांग्रेसभित्र जिम्मेवारी र अवसरका लागि आफूभन्दा माथि हेर्ने प्रवृत्ति रहेकाले अबदेखि त्यसलाई उल्ट्याएर तल हेर्ने पद्धति बसाल्नु पर्नेमा जोड दिए। 

अर्का प्रभावशाली नेता डा. भण्डारीले पनि कांग्रेसको र गणतन्त्रको विकल्प नभई बुढा नेताहरूको विकल्प खोज्ने बेला भएको धारणा राखे । उनले उमेरका कारण धेरै काममा समस्या हुने गरेको उदाहरण दिँदै विकल्प खोज्नेहरूको भावना अनुसार आफूहरूले काम गर्न सक्ने दाबी गरे ।

गुल्मीका सांसद समेत रहेका नेता भण्डारी गत फागुन ३ गते आगलागीमा परी घाइते भएपछि पहिलो पटक हिजो गृहजिल्ला आएका हुन् । उनले घाइते भएर मृत्युसँग अस्पतालको शय्यामा छटपटाइरहेका बेला गुल्मेली जनताको सम्झनाले आफूलाई जुरुक्क उठाएको अनुभव पनि सुनाए । 

गुल्मी कांग्रेसको जिल्ला सम्मेलनमा भोलि बन्दसत्र चल्ने सचिव जगदीश भट्टराईले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.