काठमाडौँ । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार बढेको छ ।
तीन महिनामा ८ खर्ब ५९ अर्ब ७७ करोड ५० लाख रुपैयाँ बढीको कारोबार मोबाइल बैंकिङ्ग र क्युआर कोड मार्फत भएको छ । नगदरहित कारोबारका लागि उपयुक्त माध्यम मानिने मोबाइल बैंकिङ्ग र क्युआर कोड पेमेन्ट व्यापक रूपमा विस्तार भएको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार असोज महिनामा मात्रै मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, क्युआर कोड मार्फत ३६ अर्ब २१ करोड ५० लाख बढीको भुक्तानी भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय सानातिना किनमेललाई क्युआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कका अनुसार डिजिटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रूपमा अघि बढेको हो ।
गत वर्षको असोज महिनामा मोबाइल बैंकिङ्ग मार्फत जम्मा १ खर्ब ६२ अर्ब १३ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । गत वर्षको असोजको तुलनामा मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार ७१.३५ प्रतिशतले बढेको हो । यता, क्युआर कोड मार्फत १५ अर्ब ७८ करोड बढीको कारोबार भएको थियो । क्युआर कोड मार्फत हुने कारोबार भने गत वर्षको असोजको तुलनामा १२९.४७ प्रतिशतले वृद्धि भएको हो ।
असोजमा ३ करोड २७ लाख ७२ हजार ८३९ पटक मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी भएको छ भने क्युआर कोडबाट हुने १ करोड १८ लाख ८३ हजार १०० पटक भुक्तानी भएको छ । हाल नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ । गत वर्षको असोजसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या १ करोड ९१ लाख २ हजार ६५२ रहेको थियो ।
मोबाइल बैंकिङ्ग मार्फत एकबाट अर्को बैङ्क खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्न सजिलै सकिन्छ । यसका साथै हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत पनि भुक्तानी गर्ने लगायत थुप्रै सुविधा हुन्छन् ।
राष्ट्र बैङ्कले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैङ्क तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाइरहेको छ । बैङ्कहरूले पनि डिजिटल भुक्तानीमा एकदमै जोड दिँदै आएका छन् । फलस्वरुप: यस तर्फ आम मानिसको चासो र आकर्षण वृद्धि भएको छ । यसले गर्दा नै विद्युतीय माध्यमबाट हुने कारोबार र प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।