add

कर बक्यौता एक खर्ब १३ अर्ब, साढे पाँच हजार करदाता मुद्दा मामिलामा






ActPro Nepal

|

८ मंसिर, २०८०

|
212

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्ममा १ खर्ब १३ अर्ब ७ करोड ५८ लाख रुपैयाँ बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।

बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार २ लाख ७० हजार ३८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कूल रु ६५ अर्ब ३५ करोड ६७ लाख २२ हजार ७०० रहेको कर बक्यौता रकम १ वर्षमै रु ४७ अर्ब ७१ करोड ९१ लाख ४० हजार थपिएको छ । त्यस्तै, विभिन्न कर कार्यालयबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकनमा गएका करदाताको सङ्ख्या करिब साढे ५ हजार देखिएको छ ।

गत असार मसान्तसम्म ५ हजार ४४३ करदाता मुद्दा मामिलामा गएका छन् । प्रशासकीय पुनरावलोकनमा गएको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम रु १ खर्ब ४५ अर्ब ७७ करोड ८९ लाख बराबर छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम रु १ खर्ब ३३ अर्ब ७१ करोड बराबर थियो ।

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी देखिएका छन् । विभागको प्रतिवेदनअनुसार १ लाख ३६ हजार ८२२ करदाताबाट रु ५९ अर्ब ४० करोड ८४ लाख ८६ हजार बराबर आयकर बक्यौता देखिएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १ लाख २९ हजार ४८५ करदाताबाट रु ५१ अर्ब १२ करोड ६० लाख भ्याट असुली हुन बाँकी रहेको छ ।

अन्तः शुल्कतर्फ १ हजार ५५ करदाताबाट रु १ अर्ब ६१ करोड ५६ लाख ५७ हजार बराबर राजस्व असुली हुन सकेको छैन । अन्यतर्फ २ हजार ५७१ करदाताबाट रु ९२ करोड ५७ लाख १० हजार बराबर कर उठेको छैन ।

प्रशासकीय पुनरावलोकन लगायत न्यायिक निरुपणमा गएका करदाताको सङ्ख्या हेर्दा आयकरतर्फ सबैभन्दा धेरै २ हजार ८८ करदाता अर्थात् रु १ खर्ब २७ अर्ब ६९ करोड ४५ लाख ४९ हजार बराबर कर रकम देखिन्छ । त्यस्तै, भ्याटतर्फ रु १४ अर्ब ६४ करोड ११ लाख १० हजार बराबर कर रकम रहेका २ हजार ३१८ करदाता मुद्दा मामिलामा गएका छन् । अन्तःशुल्कतर्फ १६४ करदाताको रु ३ अर्ब १३ करोड ७५ लाख ६८ हजार बराबर कर रकम न्यायिक अपिलका लागि गएको छ ।

त्यस्तै, गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयमा रु ७६ अर्ब १ करोड ४२ लाख बराबर बेरुजु देखिएको छ । यसरी सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको सङ्ख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ ।

आन्तरिक राजस्व विभागमार्फत गत आव २०७९/८० मा रु ६ खर्ब २६ अर्ब ६१ करोड कर असुली गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् रु ४ खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै उठेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.