add

आठबीसकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास निमार्ण गरिँदै






ActPro Nepal

|

३ मंसिर, २०८०

|
266

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण थालिएको छ । आठबीसकोट-१४स्थित जामिरेकोट पूर्णगाउँमा उनीहरुलाई चिसोबाट जोगाउन सामूहिक आवास निर्माण थालिएको हो ।

पहिलो चरणमा स्थानीय कच्चापदार्थ प्रयोग गरेर जामिरेकोट पूर्णगाउँ, छेपारे टोलमा दशवटा अस्थायी आवास निर्माण गर्न लागिएको इञ्जिनीयर मानबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भूकम्पबाट मृत्यु भएका १० घरपरिवारलाई अस्थायी आवास निर्माण थालिएको छ ।

दुई वटा भने निर्माण सम्पन्न भई पीडित परिवार बस्न थालिसकेका छन । अन्य आठ अस्थायी आवास दुई दिनभित्र निर्माण सम्पन्न गरी मृतकका आफन्त परिवारलाई हस्तान्तरण गरिने इञ्जिनीयर शाहीले जानकारी दिए ।

भूकम्पले भत्किएका घरबाट निस्केका काठ, अन्य आवश्यक परेमा स्थानीयस्तरमै पाइने सल्लाको काठ र जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण काम जारी रहेको उनले बताए ।

अस्थायी आवास निर्माण गर्दा काठलगायत आठवटा जस्तापाता प्रयोग गरेर पाँच जना परिवार बस्न मिल्ने दुई कोठा बराबरको अस्थायी आवास निर्माण गरिएको छ । नमूना घरका रुपमा निर्माण गरिएको अस्थायी आवास निर्माण गर्न प्रत्येक अस्थायी आवासलाई ३५ हजारका दरले खर्च लाग्ने उनको भनाइ छ ।

आवास निर्माण गर्दा स्थानीयवासीको पनि सहयोग रहेको छ । दशवटा आवास निर्माण गर्दा लाग्ने सबैखर्च पाँच जनाको व्यक्तिगत रुपमा भूकम्पपीडितलाई सहयोगबापत खर्च गरिएको शाहीले बताए । स्थानीय कच्चापदार्थबाट निर्माण गरिएको अस्थायी आवास जोखिममुक्त र बलियो रहेको उनको भनाइ छ ।

आठबीसकोट १४ का मृतक १३ घरपरिवारमध्ये एक घरपरिवारलाई नेकपाका महासचिव नेत्रविक्रम चन्दको नेतृत्वलेको समूहले अस्थायी आवास निर्माण गरिदिएको हो भने दुई घरपरिवारलाई अन्य सहयोगी संघ संस्थाले अस्थायी आवास निर्माण गरिदिएका हुन ।

आठबीसकोट १४ का १३ मृतक घरपरिवारलाई अस्थायी आवास बन्ने निश्चित भए पनि अन्य क्षति भएका घरमा अस्थायी आवास कहिले निर्माण हुन्छ भने टुंगो छैन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भने सम्बन्धित स्थानीय तहलाई भूकम्पले घरमा पारेको क्षतिको विवरण कार्यालयले पठाएको ढाँचामा पठाउन भनेको छ ।

स्थानीय तहबाट क्षतिको विरवण कार्यालयमा आएपछि विपद् व्यवस्थापन समितिको बैठक बस्ने र पीडितका अस्थायी आवास निर्माणमा जुट्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुबालले जानकारी दिए ।

स्थानीय तहबाट घरमा भएको पूर्ण विवरण आउन केही समय लाग्ने भएकाले अस्थायी आवास निर्माण गर्न समय लाग्ने उनले बताए । भूकम्प प्रभावित क्षेत्र पहिलो चरणको राहत वितरणको काम भने सकिएको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको थियो भने भौतिक संरचनामा क्षति पुर्‍याएको छ । अहिले अधिकांश भूकम्प पीडित त्रिपालका साहारामा चिसो रात काटिरहेका छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.