चितवन । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको १०० रुपैयाँ र फूलको प्रतिकिलो ५०० तय गरेको हो ।
निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए ।
उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ । यसबाट २ लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उनको भनाइ छ ।
छिमेकी जिल्लाबाटसमेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उनको भनाइ छ । साथै भारतबाटसमेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्पविकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उनले बताए ।
सङ्घका सचिव सुलभ श्रेष्ठले गतवर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूलखेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिए । व्यावसायिक रुपमा खेती गर्ने किसान आठजना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उनको भनाइ छ । प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उनले जानकारी दिए ।
चाडपर्व लक्षित गर्दै भरतपुर महानगरपालिका–२३ मा २० बिघामा फूलखेती गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाभित्र सो क्षेत्रफलमा फूलखेती गरिएको हो । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमासमेत अहिले फूलखेती गरिएको हो । कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूलखेतीमा युवा परिचालन गरी समूह बनाइ काम गरिएको उनले बताए ।
फूलखेती गर्ने किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था वडा कार्यालयले गरेको उनले जानकारी दिए । उनले भने, ‘कृषिलाई व्यावसायिक बनाउनका लागि हामीले फूलखेतीबाट सुरु गरेका छौँ ।’
जगतपुर कृषि फार्म प्रालिले अहिले २५ हजार बिरुवा फूल लगाएको छ । यहाँका युवा मिलेर फूलखेती गर्न लागेको प्रालिका कोषाध्यक्ष हरि आचार्यले जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।