add

तीन दिने रियल इस्टेट एक्स्पो हुँदै,घरजग्गा निर्माण सामग्री र सेवा एकै ठाउँमा पाइने






ActPro Nepal

|

२१ कार्तिक, २०८०

|
430

काठमाडौं । रियल इस्टेट विकासकर्ताहरूले घरजग्गा प्रदर्शनी ( रियल इस्टेट एक्सपाे गर्ने भएका छन् ।

मंगलबार पत्रकारसम्मेलन गर्दै नेपाल जग्गा तथा आवास विकास संघले आठौं रियल इस्टेट एक्स्पो २०२३ आगामी पौष १२ देखि १५ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने बताएको हाे ।

नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने संस्था नेपाल जग्गा तथा आवास विकास संघले यो रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो ।

नेपाल जग्गा तथा आवास विकास महासंघकाे प्रवर्धनमा ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजना र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा साे एक्स्पो आयोजना हुन लागेको संघले जनाएको छ।

एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेकोले घरजग्गा विकासकर्ताहरूले सरकारको नीति तथा प्रचलित कानून अनुसार वैज्ञानिक,व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउँदै आएकाे संघको दाबी छ ।

साेही कारण आठौं रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुने संघले जनाएको छ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले एक्सपाेले निर्माण तथा सिपमा आएकाे नयाँ माेडललाई अपडेट गर्न मदत गर्ने बताए ।

`घरजग्गामा आएकाे नयाँ ट्रान्जेक्सन र माेडललाई एक्सपाेले प्रवर्द्धन गर्न मदत गर्छ,´ उनले भने, ` जीवनमा प्रयाेग हुने कुराहरू त्यहाँ सबै राख्न सकिन्छ । याे घरजग्गा व्यवसाय र उपभाेक्ता बीचकाे अन्तरक्रियाकाे मञ्च पनि हाे ।´

आफ्नाे क्षमता अनुसार उपभोक्ताले चाहिने सामान खरिद गर्न सक्ने उनले बताए ।

एक्सपाेमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेकाे र यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने जनाएको छ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विदयुतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश रहनेछन् । साथै, यस एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना अनुसारका सेवाहरु पनि उपलब्ध गराइनेछ ।

यस एक्स्पोले व्यवस्थित आवास तथा जग्गा विकासको प्रवर्धनका लागि उत्प्रेरित गर्दै आधुनिक, दिगो एवं व्यवस्थित मानव बस्ती र सहरीकरणको विकासमा थप योगदान पुर्याउनेछ भन्ने अपेक्षा रहेकाे संघकाे भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.