काठमाडौं । गोर्खाज फाइनान्सको नाफामा उच्च वृद्धि भएको छ । शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको खुद नाफा ८५.१७ प्रतिशतले बढेको हो । चालु अवाको तीन महिनामा कम्पनीले ६ करोड १६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको असोज मसान्तसम्मको तुलनामा भने २ करोड ८३ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा बढोत्तरी आएसँगै खुद नाफा बढ्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी पनि दोहोरो अंकले वृद्धि भएको छ । गत वर्षको तुलनामा कम्पनीको यस्तो आम्दानी १५.५२ प्रतिशतले बढेर ९ करोड ३७ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
सो अवधिमा कम्पनीको संचालन नाफा पनि ८१.८९ प्रतिशतले बढेर ८ करोड ८३ लाख ८९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा २ करोड ७८ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीले ७ अर्ब ६४ करोड ५४ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरि ५ अर्ब ८१ करोड ३ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । तर, कम्पनीको खराब कर्जा भने ९.८९ प्रतिशत पुगेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने कम्पनीको यस्तो कर्जा ७.४२ प्रतिशत मात्रै रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९६ करोड ९५ लाख ८७ हजार रुपैयाँ राखेको छ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैइाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ १६ पैसा कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।