काठमाडौं । गरिमा विकास बैंकले सवा २० करोड खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको खुद नाफा ४.२५ प्रतिशतले बढेर २० करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने बैंकले १९ करोड ३३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफा बढेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशतले वृद्धि भई ८८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत असोज मसान्तसम्ममा बैंकको संचालन नाफा पनि ४.३२ प्रतिशतले वृद्धि भई २८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३८ करोड ६८ लाख बढी देखिएको छ ।
यस्तै, बैंकको निक्षेप संकलन भने सामान्य वृद्धि भएको छ। गत वर्षको तुलनामा यो त्रैमासमा बैंकको निक्षेप १.८२ प्रतिशतले मात्रै वृद्धि भई ७८ अर्ब ३६ करोड ४० लाख रुपैयाँ कायम भएको छ । यस्तै, कर्जा लगानी पनि १.२८ प्रतिशतले मात्रै बढेर ६३ अर्ब २ करोड ४ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि वृद्धि भई २.६८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकको यस्तो कर्जा १.७१ प्रतिशत मात्रै रहेको थियो ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेर १५ रुपैयाँ ५४ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँ ५९ पैसाले वृद्धि भई १५२ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ७२ करोड ४३ लाख रुपैयाँ राखेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।