काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा भारतले श्रीलंका ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ। यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको छ।
मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो। ओपनर रोहित शर्मा ४ रनमै मधुशंकाको शिकार भए। तर त्यसपछि शुभमन गिल र विराट कोहलीले १८९ रनको साझेदारी गरे। गिलले ९२ र कोहली ८८ रन बनाएर आउट भए। तेस्रो नम्बरमा मैदान आएका श्रेयस अयरले पनि ८२ रनको योगदान दिए। केएल राहुलले २१ रन बनाए।
श्रीलंकाका दिलशान मधुशंका एक्लैले ५ विकेट लिए। देशमुख चमिराको नाममा १ विकेट रह्यो।
जवाफमा श्रीलंकाले खराब प्रदर्शन गर्यो। उसले ३ रनमै ४ विकेट गुमायो। पाथुम निशान्का, दिमुथ करुणारत्ने, दुशन हेमन्था, दुशमन्था चमिरा र सादिरा मसराविक्रमा शून्यमै पवेलियन फर्किए।
कप्तान कुशल मेन्डीस र चरिथा आशलंकाले ११ रन बनाए। कसुन रजिथाले सर्वाधिक १४ रन बनाए। १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदा ५५ रन मात्र बनाउन सफल भयो।
भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद शिरजले ३ विकेट लिए। जीतपछि १४ अंक बनाएको भारत २ खेल अगावै सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्यो।
प्रतियोगिता अन्तरगत आज अफगानिस्तान र नेदरल्याण्ड्स आमने सामने हुनेछन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।