add

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान






ActPro Nepal

|

१५ कार्तिक, २०८०

|
271

खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन्।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिन्छ। 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान तीन वर्षअघि शुरु गरिएको थियो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको अभियानअन्तर्गत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ फूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाबलगायतका २० बजारभन्दा बढी बहुवर्षे फूलका बिरुवा रोपिएका छन्।

यसका लागि आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पूरा गर्ने गरी शुरु गरिएको अभियान साकार बन्दै गएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबी चाम्लिङले बताए। किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासका ठाउँमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउने परिकल्पना गरिएको थियो। 

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजनाअन्तर्गत नगरपालिकाले बर्सेनी बजेटसमेत विनियोजन गर्दै आएको छ। मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यीकरणका लागि यो वर्ष प्रदेश सरकारबाट एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको जनाइएको छ। 

आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने अभियान थालेको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। ‘सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ। यहाँ तीनवटै चिज एकै ठाउँमा छ। यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्वर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ’, उनले भने, ‘फूलको बगैँचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा सघाउ पुग्नेछ। त्यसको नेतृत्व नगरपालिकाले गरेको छ। भविष्यमा यसले नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।’

दिक्तेलस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ। चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन्।

किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ। गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ। त्यस्तै गढीको बीच भागमा मौली छ। 

उसबेला रणवीर राजाका रैतीहरूले दशैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो। मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ। त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ। गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढीवरिपरि बम्कर घेरासमेत रहेको छ। मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ। 

मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ। धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेला लाग्छ। 

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ। मझुवागढी पर्यटकलाई लक्ष्य गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो।

उच्च हिमश्रृङ्खला तथा तराईका समथर भू–भागको राम्रोसँग दृश्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासी बताउँछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.