काठमाडौं । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा सीमित रहने अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)ले प्रक्षेपण गरेको छ।
कोषले गत अप्रिलमा ४.४ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा अहिले घटाएको छ । यसैगरी, २०२४ को आर्थिक वृद्धिको प्रक्षेपण पनि घटाइएको छ । नेपालको आर्थिक वृद्धि अप्रिलमा ५.१ प्रतिशतले २०२४ मा हुने अनुमान गरिएकोमा अहिले घटाएर ५ प्रतिशत कायम गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतिकूलता बढेपछि आइएमएफले विश्वकै आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । मुद्रा कोषले प्रक्षेपण गरे अनुसार नेपालको आर्थिक वृद्धि भने गत वर्षको भन्दा कमजोर हुने देखिएको छ ।
गत वर्ष १.९ प्रतिशत आर्थिक वृद्धि हासिल गरिएकोमा चालु वर्षमा सुधार हुने अपेक्षा गरिएको थियो । सरकारले यो वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । तर, अन्तर्राष्ट्रिय मौद्रिक निकायहरुले भने सो लक्ष्य हासिल नहुने देखाइसकेका छन् ।
हालै विश्व बैंक, एशियाली बैंकले नेपालको आर्थिक वृद्धिमा सुधार हुने अनुमान गरेका थिए । २०२३ मा विश्व बैंकले ३.९ र एशियाली विकास बैंकले ४.३ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने अनुमान गरेका थिए ।
सन् २०२३ मा भारत र चीनको आर्थिक वृद्धिदर भने सकारात्मक हुने आइएमएफले प्रक्षेपण गरेको छ । भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत र चीनको ५ प्रतिशत हुने कोषको अनुमान छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।