काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले रुपन्देहीको मार्चवारी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले यस प्रदेशमा बीमाको विकास तथा पहुँच विस्तारको उद्देश्यले स्थानिय सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको छ । सोही क्रममा यस गाँउपालिकासँग उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले स्थानिय सरकारले बीमालाई नीतिमै राखेर अगाडी बढ्नु पर्ने आवश्यकता औल्याएका थिए । नेपाल प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख थापाले भने अबको दिनमा बीमा सम्बन्धि अधिकांश कामहरु स्थानिय तहबाटै हुने भएकोले यसबारे स्पष्ट भई नीतिमै समावेश गर्नुपर्ने बताएका थिए । स्थानीय सरकार जनताको अभिभावक हो त्यसैले बीमालाई अनिवार्य गरेर सेवा प्रवाह गरेमा जोखिम न्यूनीकरण हुन्छ । थापाले भने कृषि बीमा, लघु बीमा लगायतका स्थानिय तहहरुबाट नै सञ्चालन हुने तयारी भईरहेको छ ।
स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पु¥याउन सजिलो हुने उल्लेख गर्दै थापाले बीमा दाबीका लागि सिफारिस दिँदा घटनाका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिस दिन आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गया बरईले नागरिकको जीवन तथा सम्पत्तिको जोखिम हस्तान्तरण गरी आर्थिक संरक्षण गर्नका लागि बीमालाई प्राथमिकताका साथ अगाडि बढाइने बताएका थिए । गाउँपालिका अध्यक्ष बरईले कृषि, स्वास्थ्य, लघु एवम् अन्य बीमाहरुलाई लक्षित गरि पालिकाका सबै वडाहरुमै हेल्प डेस्क राखिदिन प्रमुख थापालाई आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयसँगको समन्वयमा जीवन तथा निर्जीवन बीमालाई प्रभावकारी रूपले अगाडि बढाउने र त्यसमा कुनै कमी कमजोरी हुन नदिने बताएका थिए ।
कार्यक्रममा मर्चवारी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।