काठमाडौं । सरकारले तत्काल अर्थतन्त्र सुधारको कदमहरु चाल्न आवश्यक रहेको अन्तर्राष्ट्र्रिय मुद्रा कोष (आईएमएफ)ले बताएको छ । आईएमएफको मिसन टोलीका प्रमुख टिडियान किन्दा सहित नेपाल आएका प्रतिनिधिहरुले बैंक तथा वित्तीय संस्था परिसंघसँग (सीबीफीन)सँगको छलफलमा यस्तो बताएका हुन् ।
विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भए पनि सरकारले आवश्यक सुधारका कदम चाल्नुपर्ने उनीहरुको सुझाव छ ।
आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा सीबीफीनले शुक्रबार आफ्नो कार्यालयमा चालु मौद्रिक नीति, चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा सघन छलफल गरेको हो । आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्ननतिका लागि नेपालले तय गर्नुपर्ने मार्गहरुका विषयमा सघन छलफल भएको सीबीफीनले जनाएको छ ।
टोलीले नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको संभावित भूमिकाका विषयमा जिज्ञासा राखेको थियो ।
मिसन टोलीको जिज्ञासा मेट्दै सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले नेपालको कृषि, वनपैदावर, उर्जा, पयर्टनलगायतका क्षेत्रहरुमा देखिएका अथाह संभावनालाई ध्यान दिँदै सरकार तथा नियामक निकायहरुले मैत्रीपूर्ण नीति र वातावरण बनाउनुपर्ने बताए ।
उनले निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गरे ।
त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरुमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न गोल्यान आग्रह गरे ।
गोल्यानले “आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु” अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका अध्ययन प्रतिवेदनहरुबारे ब्रिफिङ गर्दै टोली किन्दालाई हस्तान्तरण गरेका थिए ।
उक्त अध्ययन पुस्तक तथा प्रतिवेदनहरु ग्रहण गर्दै मिसन टोली प्रमुख किन्दाले सीबीफीनले उठाएका विषयहरुका बारेमा आईएमएफलगायतका निकायमा आवश्यक छलफल गर्ने सन्देश व्यक्त गरे ।
त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरुको सामना गरिरहेको बताए ।
विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीति हुनसके अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गरे ।
भेटघाटका क्रममा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरुमा आईएमफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गराएका थिए ।
नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरुको भूमिकाका विषयमा समेत उनले प्रकाश पारे ।
छलफलमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सीबीफीनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुश प्रसाद मल्ली, सदस्य उपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।