add

बाल सुधार गृहबाट दुई बालकैदी फरार






ActPro Nepal

|

१२ असोज, २०८०

|
472

वीरगन्ज । वीरगन्जस्थित बाल सुधार गृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन ।

कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार भएका हुन ।

दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो । फरार दुवै जनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधारगृह समस्यामा परेको हो ।

६० जनाको क्षमता भएको सुधार गृहमा हाल दोब्बरभन्दा बढी एक सय २६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधार गृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जिवन बिताउन बाध्य  छन । एउटै कोठाभित्र धेरै जना कोचर बस्नु पर्दा स्थ्यलगायत अन्य समस्या भइरहेको गृहमा रहेकाहरूको गुनासो थियो ।

धेरै मान्छे कोचाकोच गरी बस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टाफ नर्स अन्जु कुमारीले बताइन् ।

‘बिरामी पर्नेलाई पहिला हामी गृहभित्रै उपचार गछौँ’, स्टाफ नर्स कुमारीले भनिन्, ‘समस्या बढ्दै गएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजान्छौँ । जाडो याममा भन्दा गर्मी याममा स्वास्थ्य समस्या बढी हुन्छ ।’

ठाउँ साँघुरो भएकाले गृहमा रहेका बालक र किशोरलाई चेस, क्यारेमबोर्डलगायत खेल बाहेक अन्य खेल खेल्न कठिनाइ भएको छ ।

‘हामीसँग फुटबल, भलिबललगायत अन्य खेलकुद गर्ने ठाउँ छैन्, त्यसैले अहिले चेस, क्यारेमबोर्ड खेलमात्र भइरहेको छ । हामीले चाहेर पनि ठाउँ नभएर बालक र किशोरहरूलाई फुटबल, भलिबल खेल दिइरहेका छैनौँ’, स्टाफनर्स अन्जुले भनिन् ।

करिब डेढ कठ्ठा जमिनमा फैलिएको सो सुधार गृहमा साना-ठूला गरी ११ कोठा छन । साना कोठामा १२ देखि १४ र ठूलोमा ३१ जनालाई कोचेर राखिएको छ । कानुनी विवादमा परेर मधेस प्रदेशको पर्साबाट सप्तरीसम्मका अदालतबाट पुर्पक्ष तथा कैद सजायका लागि सो सुधार गृहमा बालक र किशोरहरूलाई पठाइएको छ ।

तत्कालीन अनाथालय भवनलाई गत २०७५ साल भदौमा बाल सुधार गृहको रूपमा सञ्चालन गरिएको थियो । सो गृहमा हाल आश्रितमध्ये ४१ जबर्जस्ती करणीका, २० लागुऔषध मुद्दाका, दस सवारी ज्यान मुद्दाका र सात जना अपहरण तथा शरीर बन्धक मुद्दाका छन ।

अन्य भने चोरी, कर्तव्य ज्यानलगायत मुद्दाका रहेका छन । केही बालबालिका भने मानव बेचबिखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि छन ।

बालबालिकाको मुद्दा अधिकतम एक सय २० दिनमा फैसला गरिनुपर्ने व्यवस्था ऐनमा रहे पनि लामो समयसम्म फैसला नहुँदा सुधार गृहमा क्षमताभन्दा बढी बालक तथा किशोर रहेको प्रमुख काफ्लेले बताए ।

कुल आश्रितमध्ये डेढ दर्जनको मात्रै मुद्दा फैसला भएको र बाँकी पुर्पक्षमै रहेको उनको भनाइ थियो । काठमाडौं र पोखरामा रहेका बाल सुधार गृहमा विद्यालय र अस्पतालको पनि सुविधा भएपनि यो गृहमा त्यस्तो सुविधा नभएकाले समस्या भइरहेको प्रमुख काफ्लेले बताए ।

सुधार गृहमा रहेका बालक र किशोरको मानसिक र शैक्षिक विकासका लागि भित्रै पुस्तकालय तथा मनोरञ्ज कक्षसमेत सञ्चालन गरिएको जनाइए पनि झन्झटिलो कानुनी व्यवस्थाका कारण गृह सञ्चालनका लागि धेरै निकायसँग समन्वय गर्नुपर्ने बाध्यताले थप समस्या भइरहेको प्रमुख काफ्लेको गुनासो थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.