add

सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर






ActPro Nepal

|

१२ असोज, २०८०

|
217

बागलुङ । बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको घटना पनि स्थानीयले केही दिनपछि मात्रै थाहा पाउँछन् ।

प्राकृतिकरूपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक आउने गर्छन् । नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने निसेलढोरमा टेलिफोन, इन्टरनेट तथा अन्य प्रविधि पुगेको छैन । यसका कारण यहाँका सयौँ नागरिकले टाढाटाढाको सूचना थाहा पाउन सक्दैनन् । विद्युतको पहुँचसमेत नपुग्दा टुकी र दियालोकै भरमा स्थानीयले रात बिताउँदै आएका छन् ।

जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने निसेलढोरमा अहिलेसम्म विद्युत र सूचना सञ्चारविहीन हुँदा आगन्तुक र स्थानीयले सास्ती खेप्नुपरेको छ ।

निसीखोला गाउँपालिका–५ मा पनि निसेलढोर क्षेत्रलाई विद्युत् र सूचना प्रविधिले जोड्नतर्फ सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

यहाँ कोहीले मोबाइल चलाउन चाहे पनि ‘चार्ज’ गर्नका लागि विद्युत् र फोन तथा सामाजिक सञ्जाल चलाउन इन्टरनेट अभाव छ । एक दशक अगाडिसम्म उत्तरगङ्गा ढोरपाटन क्षेत्रमा पनि इन्टरनेटको सुविधा थिएन । 

नेपाल टेलिकमले टावर राखेपछि अहिले ढोरपाटन क्षेत्र भने सञ्चारसँग जोडिएको छ । निसेलढोरमा खास गरी निसीखोला गाउँपालिका–५ निसीका स्थानीय बस्ने गर्छन् । 

पहिलेपहिले बर्खाको समयमा मात्रै बस्ने गरे पनि सडकले निसेलढोर जोडिएपछि स्थायीरुपमा धेरै नागरिक यहाँ बसोबास गर्दै आएका छन् । फोनले काम नगर्दा अन्य ठाउँमा हुने घटना महिनौँपछि थाहा पाउने स्थानीय रनबहादुर घर्ती मगरले बताए । 

उनले निसी गाउँ झर्दा नेटले काम गरेर सूचना आदानप्रदान गर्न पाए पनि निसेलढोरमा बस्दासम्म बाहिरी सूचना थाहा पाउन नसक्ने बताए ।

सरकारले विद्युत् र टावरको व्यवस्था गरी दिएर निसेलढोरमै फोन चलाउन पाइने र सूचना आदानप्रदान गर्न सहज हुने घर्ती मगरले बताए । फोनले काम नगर्दा आफूहरुले धेरै समस्या भोग्नुपरेको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जिल्लाकै सबैभन्दा विकट हुँदा अहिलेसम्म इन्टरनेटको व्यवस्थापन गर्न नसकिएको बताए । 

निसेलढोरलाई विद्युत् र इन्टरनेटसँग जोड्नका लागि विभिन्न निकायसँग सहकार्य भइरहेको उनको भनाइ छ । उनले अहिले निसेलढोरमा टेलिफोन सेवा सञ्चालनका लागि टावर निर्माणका काम सुरु भएको बताए ।

निसीखोला गाउँपालिका–६ को चौरीभुजुङ्गीमा नेपाल टेलिकमले टावर निर्माण गरिरहेको अध्यक्ष घर्ती मगरले जानकारी दिए ।

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले निसेलढोरलाई लक्षित गरी मोबाइल टावर निर्माण गर्न थालेको बताए । अहिलेसम्म सञ्चारको पहुँचबाट बाहिर रहेका निसेलढोरवासीलाई सञ्चारसँग जोड्ने तीन हजार सात सय ३० मिटरको उचाइमा टावर निर्माण सुरु भएको प्रमुख शर्माले बताए ।

टावर उच्च स्थानमा राख्न थालेको हुँदा यहाँ विद्युत्को पहुँच नभएको भन्दै सोलारमार्फत टावर सञ्चालन गर्ने उनको भनाइ छ । यस स्थानमा फोरजी चल्ने गरी टावर निर्माण भइरहेको शर्माले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.