काठमाडौं । ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम नेपाल) बीच सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रालिका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकले भीजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय र कम्बस्चन गाडी किन्न चाहने ग्राहकलाई कर्जा उपलब्ध गराउने छ ।
जस अनुसार जीडब्ल्यूएमले बेच्ने ह्याभल ब्रान्डका एसयूभी, पावर ब्रान्डका पिकअप र ओआरए ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहनेले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
निवेदन दिएको ३ कार्यदिन भित्र नियमानुसार उचित ठहर्याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याउने गरेको बैंकको भनाइ छ ।
ग्लोबल आइएमई बैंकले हाल ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।