add

थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलमा अब ‘अनलाइन टिकट’






ActPro Nepal

|

२० भदौ, २०८०

|
179

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आज (बुधबार) आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उनले प्रसूति अस्पतालको दीर्घकालीन योजना र जनशक्तिलाई पुनःसंरचना गरिने बताए। उनले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिए।

“बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआरकोडमार्फत भुक्तानी र दश शय्या एनआइसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ”, उनले भने।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले आगामी १६औँ योजनामा स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनका लागि पहल भएको बताए। “१६औँ योजनाबाट प्रत्यक्ष लाभ स्वास्थ्य संस्थाले नै लिने हो” उनले भने,“योजनामा स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे राम्ररी व्यवस्था गर्ने तयारी छ।”

मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले प्रसूति अस्पतालले मातृ मृत्युदरलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले पहल गरिरहेको जनाए। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले विशिष्टीकृत सेवा विस्तारका लागि स्रोतसाधान तथा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयसँग आग्रह गरे।

“अस्थायी शय्याको व्यवस्था गरेर जस्तोसुकै परिस्थितिमा पनि अन्यत्र रिफर नगरी उपचार सेवा उपलब्ध गराइहेका छौँ” उनले भने, “विशष्टिकृत सेवा विस्तार गर्न मन्त्रालयसँग आवश्यक सहयोगका लागि पहल गरिरहेका छौँ।” विसं २०१६ मा स्थापनामा ४० शय्याबाट यस अस्पतालले पछिल्लो समय चार सय ८९ शय्यामार्फत उपचार सेवा उपलब्ध गराइरहेको छ। आर्थिक वर्ष २०७९/८० मा ३४ हजार एक सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार नौ सय ४७ तथा स्त्रीरोगतर्फ पाँच हजार ४६ जनाले उपचार सेवा लिएका छन।

त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ दुई हजार एक सय ९२ र मातृ सघन उपचार तर्फ चार सय ८३ भर्ना भएका थिए भने बहिरङग सेवा तर्फ एक लाख ८० हजार आठ सय ९० जनाले सेवा लिएको निर्देशक डा अधिकारीले जानकारी दिए। प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो। यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो। यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूति भएको थियो।

‘आइभीएफ’ सेवा लिनेको सङ्ख्या ३८ जना र निःसन्तानसम्बन्धी बहिरङ्ग सेवा लिने आठ हजार तीन सय नौ रहेका छन्। यस्तै, दुई सय ५४ जना महिलाले आइयूआई सेवा र २७ जना निःसन्तान सेवाग्राहीले आइभिएफ सेवा लिएका छन्। लैङ्गिक हिंसाबाट पीडित महिलाको लागि अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आवमा चार सय तीन जना विभिन्न लैङ्गिक तथा यौन हिंसावाट पिडित महिलाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालबाट पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ र उपचारका सेवा विस्तार र किशोरीहरुलाई एचपीभी खोपको व्यवस्था गर्ने योजना बनाएको छ। सो अवसरमा अस्पतालद्वारा बहिरङ्ग सेवा तर्फ ‘अनलाइन टिकेटिङ’ सुरुआत समेत गरिएको थियो। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.