add

विद्युत् विधेयक संसद्मा पेश गर्ने निर्णय






ActPro Nepal

|

१३ भदौ, २०८०

|
476

काठमाडौं । बहुप्रतीक्षित विद्युत् विधेयक-२०८० लाई सरकारले सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित गरी सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक मंगलबारको बैठकले पारित गर्दै सङ्घीय संसद्मा पेश गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको छ ।

लामो समयदेखि सो विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो ।

सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेकी थिइन् । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालले २०७९ भदौ ३१ गते विद्युत् विधेयक फिर्ता लिएकी थिइन् ।

संसदीय प्रक्रिया लामो हुने देखिएपछि संसद्को कार्यकालसमेत अन्तिम हुन लागेको अवस्थामा थप सहजीकरणका लागि अध्यादेश जारी गर्न लागिएको थियो । राष्ट्रपति कार्यालय पुगेको सो अध्यादेश जारी हुन सकेको थिएन ।

ऊर्जामन्त्री बस्नेतले सोमबार यसै साताभित्र सङ्घीय संसद्मा सो विधेयक पेश गरिने जानकारी दिएका थिए । समयको मागअनुसार ऊर्जा क्षेत्रको समग्र विकास, विद्युत् व्यापार तथा आन्तरिक खपत वृद्धिलगायतका विषयलाई केन्द्रमा राखेर सो विधेयक अगाडि बढाइएको छ ।

विधेयकमा निजी क्षेत्रलाई विद्युत् व्यापारमा पनि सहभागी गराउने प्रस्ताव गरिएको छ। अहिले निजी क्षेत्रले विद्युत् उत्पादन मात्रै गर्दै आएको छ भने व्यापारमा नेपाल विद्युत् प्राधिकरणको एकाधिकार छ।

यसैगरी, विधेयकमा प्राधिकरण टुक्र्याउने व्यवस्था गरिएको छ । एउटै निकायले विद्युत् उत्पादन, प्रसारण र वितरण एउटा संस्थाले गर्न नपाउने व्यवस्था गरिएको छ ।

हालसम्म विद्युत् ऐन, २०४९ अनुसार नै मुलुकको समग्र ऊर्जा क्षेत्र क्रियाशील थियो । सो ऐनलाई समयानुकूल बनाउनुपर्ने माग सरोकारवाला निकायले गर्दै आएका थिए । निजी ऊर्जा उद्यमीले पनि समयानुकूल कानून नहुँदा आफूहरूलाई अप्ठ्यारो परेको बताउँदै आएका थिए ।

यस्तै, भन्सार विधेयक-२०८० लाई पनि सङ्घीय संसद्मा पेश गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद्ले निजीकरण समितिको सदस्यमा सांसदद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई मनोनयन गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.