add

शिवम् सिमेन्टले ८ वर्षदेखि तिरेन विद्युत् बक्यौता, सवा २ अर्ब तिर्न बाँकी






ActPro Nepal

|

६ भदौ, २०८०

|
322

बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले रू २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित ९४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।

इञ्जिनियर चौहनले उद्योगले हालसम्मको रू २ अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए । ‘उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो,’ उनले भने, ‘त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।’

उद्योगसहित विद्युत् बक्यौता नतिर्ने ९४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो ।

‘कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ,’ इञ्जिनियर चौहनले भने, ‘पाँच जनाबाट रू एक लाख २२ हजार ५९२ सङ्कलन गरिएको छ ।’ उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ ।

प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए । विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू १ लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.