काठमाडौं । नेपाल टेलिकमको खुद नाफा गिरावट आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.८६ प्रतिशतले घटेको छ।
गत असार मसान्तसम्म कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६७ करोड रुपैयाँ कम हो । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको बिक्री र अन्य आम्दानी घटेपछि खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ३७ अर्ब ९१ करोड रुपैयाँ थियो।
यस्तै, कम्पनीको अन्य आम्दानी ४५.३४ प्रतिशतले घटेर २९ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । कुल आम्दानी भने १.११ प्रतिशतले बढेर ४४ अर्ब ८६ करोड पुगेको छ।
हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड रुपैयाँ संचित छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ४७.०६ रुपैयाँ रहेको टेलिकमको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ घटेर ४४.३६ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.९२ गुणा छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।