add

आज अन्तर्राष्ट्रिय युवा दिवस : योजना कार्यान्वयनमा जहिल्यै समस्या






ActPro Nepal

|

२७ साउन, २०८०

|
517

काठमाडौं । आज अगस्ट १२ तारिख। विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ। 

सरकारले बर्सेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरू बताउँछन्।

युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृत रूपमा सम्बोधन हुन नसकेको उनीहरूको गुनासो छ।

सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो। यस्तै पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो। युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ। 

साथै राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन्। प्रदेश युवा परिषद्,जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन्।

प्रदेश स्तरमा लुम्बिनी, बागमती र सुदूरपश्चिममा युवा परिषद् गठन गरिएको छ। यद्यपि अझै पनि युवाका मुद्दा किन सम्बोधन हुन सकिरहेको छैन त? राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्छन्। यस क्षेत्रका लागि विभिन्न कार्यक्रम बनेपनि ती सबैमा बजेट अभावका कारण कार्यान्वयनमा समस्या देखिएको उनको बुझाइ छ। 

‘युवासँग सम्बन्धित नीति कार्यान्वयनका लागि बजेटको उपलब्धता अन्त्यन्तै सीमित छ। त्यसैले योजना कार्यान्वयनमा कठिन भइरहेको छ,’ उनले भने,‘युवा सशक्तीकरण,आत्मनिर्भर र स्वरोजगार बनाउन राज्यले जुन मात्रामा प्रथामिकता दिनुपर्ने हो त्यो अझै पुग्न सकेको छैन।’ उनले राज्यले पनि युवालाई प्राथमिकतामा राख्न नसकेको बताए।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्। 

नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो। परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो।

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले युवाका क्षेत्रमा माग गरिएका संरचना र कानून बनेपनि योजना कार्यान्वयनमा समस्या रहेको बताए। नयाँ नेपाल बनाउने हो भने पहिलो शक्ति नै युवा भएकाले राज्यले युवामैत्री गतिविधि सञ्चालन गर्नुपर्ने उनको सुझाव छ। युथ भिजन २०२५ र युवा स्वरोजगार कोष कार्यान्वयनमा पनि समस्या देखिएको उनको बुझाइ छ।

‘राज्यले युवामैत्री गतिविधि र कार्यक्रम ल्याएर युवालाई समृद्ध नेपालको अभियन्ता बनाउनसक्नुपर्छ,’ उनले भने, ‘राज्यले युवालाई जति सदुपयोग गर्न सक्यो त्यति नै चाँडै मुलुक निर्माण हुनसक्छ।’

राज्यले आगामी १० वर्षलाई युवा दशकका रूपमा मनाएर युवालाई परिवर्तन र राष्ट्रिय पुँजी निर्माणको संवाहकका रूपमा लैजानसक्नुपर्ने उनको सुझाव छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.