काठमाडौं । अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउने अर्थमन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ । साथै सो जानकारी समितिलाई दिने समेत समितिले निर्देशन दिएको छ ।
रासायनिक मलको माग तथा आपूर्ति व्यवस्थापन बारे अर्थ समितिमा गत असार २१ गते र हिजो छलफल भएको थियो ।
‘किसानको समस्यालाई मध्यनजर गरी गैर व्यापारिक निजी प्रयोजनका लागि दुई बोरा किसानले मल ल्याउँदा भन्सार बिन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउन अर्थ मन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिने र सोको जानकारी समितिलाई दिने,’ अर्थ समितिको निर्देशनमा भनिएको छ ।
मुख्यगरी भारतबाट भन्सार छलेर अवैध रुपमा रासायनिक मल आउने गरेको, कालोबजारी हुने गरेको र यस्तो मलको गुणस्तरको प्रत्याभूमिसमेत नहुने समस्या देखिँदै आएको छ ।
किसानले भन्सार तिरेर आफैं मल ल्याउँदा यस्तो समस्या नरहने समितिको बुझाइ छ । किसानले हरेक वर्ष रासायनिक मल अभावको समस्या भोग्ने गरेकाले यसको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
मलको माग तथा आपूर्तिको तथ्याङ्क यकिन गर्न र वैकल्पिक व्यवस्थाका लागि जैविक मल प्रयोगका लागि राष्ट्रिय रणनीति तयार पार्न पनि समितिले निर्देशन दिएको छ ।
‘मलको माग र आपूर्तिमा ठूलो फरक देखिएकाले यथार्थ तथ्याङ्क यकिन गरी माग र आपूर्तिबीच देखिएको फरकको पूर्ति गर्न अर्थमन्त्रालयसँग समन्वय गरी कार्ययोजना बनाइ लागू गर्न र समितिमा सो कार्ययोजना पेस गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ,’ समितिको निर्देशनमा भनिएको छ ।
समितिले रासायनिक मलको विकल्पका रुपमा जैविक र प्राङ्गारिक मलको आपूर्ति, व्यवस्था र प्रयोग सम्बन्धमा अन्य निकायसँगको आवश्यक समन्वयमा राष्ट्रिय रणनीति तयार पारी कार्यान्वयन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
सरकारी गोदाममा मल रहेपनि वितरणमा समस्या भइ किसानले मल नपाएको विषयबारे पनि अर्थ समितिका अघिल्ला बैठकमा छलफल भएको थियो । समितिले वितरण प्रणाली चुस्त बनाउनका लागि पनि रणनीति तयार पार्न सरकारलाई निर्देशन दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।