प्यूठान। प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् ।
प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ ।
नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विसं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिकसत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिए ।
विद्यालयका शिक्षक अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन् । तर अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको उनले बताए ।
उनका अनुसार विद्यालयले शैक्षिकसत्र सुरु गर्न विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यार्थी भर्नाका लागि अभिभावकसम्म पुगेर बालबालिकालाई भर्ना गर्न अनुरोधसमेत गरिएको थियो ।
“विद्यार्थी प्रोत्साहनका लागि कापी, कलम, पोशाकको समेत व्यवस्था गर्ने सोचमा थियौँ । स्थानीय बालबालिका निजी विद्यालयमा भर्ना हुन गएका कारण यहाँ भर्ना हुन आएनन्”, प्रधानाध्यापक थपलियाले भने ।
विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि प्युठान नगरपालिकाले कक्षा ५ सम्म पढाइ भइरहेको विद्यालयलाई कक्षा १ देखि ३ कक्षासम्म हुने निर्णय गरेको थियो । कक्षा १ देखि ५ सञ्चालन हुँदै आएका छ प्राथमिक विद्यालयको कक्षा ग्रेड घटाइएको प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताए।
शून्य विद्यार्थीको विद्यालय के गर्ने भन्ने निर्णयमा प्युठान नगरपालिका छलफलमा रहेको उनको भनाइ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।