add

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रका समस्या हटाउनुपर्छ : अर्थमन्त्री






ActPro Nepal

|

४ वैशाख, २०८०

|
458

काठमाडौं ।  अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न सरकार तयार रहेको बताए। 

‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौंँ। केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ,’ अर्थमन्त्री डा महतले भने।

उनले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै  देशको अर्थ व्यवस्थाबारे जानकार व्यक्तिले नै समाधानको पहल गर्नुपर्नेमा जोड दिए। 

‘अहिले देखा परेको अप्ठ्यारोमा एकअर्कालाई सहयोग गरौँ, सहज अवस्थामा कसैलाई कसैको सहयोगको आवश्यकता पर्दैन तर अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ,’ उनले भने।

मन्त्री महतले सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम हुन नसकेको बताए।  ‘अहिलेको अवस्था राजनीतिक तन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ, म स्वीकार गर्न तयार छु, सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौती छ,’ डा महतले भने, ‘हामीले नीतिगत रुपमा धेरै कुरा भनेका छौँं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने कतिपय विषयमा राजनीति र आर्थिक दायित्वबीच तादाम्य नहुँदा समस्या सिर्जना भएको उनको भनाइ थियो। ‘बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादाम्यका साथ हामीले सँगसँगै लैजानुपर्छ,’ अर्थमन्त्रीको भनाइ छ। 

उनले नेपाल राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिँदै भने, ‘आर्थिक सूचाङ्क अब सकारात्मक हुनेछ, अन्तरराष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिल्यै चासो राखेको हुन्छ, उनीहरुको सल्लाह सुझावमा पुराना नीति समयसापेक्ष बनाउने पहल गरेका छौँ।’

निजी क्षेत्रले पनि आफ्नो वास्तविकता बताउनुपर्ने भन्दै मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा महतले बताए। ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएकाले बैंकर्स एशोसिएशनले ब्याजदरमा हेरेफेर गरेकाले केही अप्ठ्यारा भए पनि उक्त कदमले समग्र पक्षको आर्थिक सुधारमा भने मद्दत पुगेको उनको भनाइ छ। 

सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र र उद्योगी व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी गराए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.