काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक अवस्थामा अप्ठ्यारो रहेको भन्दै सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने बताएका छन्।
उनले सरकारले गरिबीको रेखामुनि रहेकालाई राज्यले सहयोग गर्ने उद्देश्यले दिए पनि देशको साधन स्रोतबिना यो कठिन भएको उनको भनाइ छ।
अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक सङ्घसँगको भेटमा अर्थमन्त्री डा. महतले उक्त जानकारी दिएका हुन्। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सकारात्मक सन्देश दिने गरी आफूले काम गर्ने बताएका छन्। उनले अर्थतन्त्रमा देखिएका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागिरहेको बताए।
उनले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा आन्तरिक लगानी प्रवर्धन हुनुपर्ने बताए। उनले वैदेशिक ऋणलाई समयमै कार्यान्वयन गर्नुपर्ने बताए। उनले राजस्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताए।
अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको चर्चा गरे। उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पुँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे। मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व संकलन न्यून भएको स्वीकार गरे।
उनले विगतमा आर्थिक वृद्धिदरभन्दा बढी राजस्व संकलनको लक्ष्य राख्ने गरे पनि उत्साहजनक रूपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुने अवस्था नभएको स्पष्ट पारे। उनले मुलुकको राजस्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए।
उनले सरकारलाई साधारण खर्च धान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको उल्लेख गरे। उनले सरकारलाई साधारण खर्च धान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर हुनु उपयुक्त नभएको बताए। उनले साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिको लगायत अन्य अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको दाबी गरे।
उनले बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाइले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा केही अप्ठेरा आएको बताए। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताए।
उनले निराशाको परिस्थितिलाई आशामा रूपान्तरित गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए। उनले सरकारको साधारण खर्चलाई अत्यन्त कम गर्ने गरी काम गर्ने बताए। उनले सरकारको दायित्वभित्र रहेका तलब, भत्ता, शिक्षा, स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताए।
उनले भने, ‘मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा छ। सरकारले तत्काल सुधार गर्नुपर्ने महसुस गरेको छ। लगानीकर्ताले असहज महसुस गरिरहेका छन्। बैंकको ब्याजदर, पुँजीबजारका समस्या छन्। राजस्व संकलन न्यून भएको अवस्था छ। मुलुकको राजस्व संकलन भन्सारमा निर्भर छ। साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ। पुँजीगत खर्च आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको छ। त्यस्तो हुनु उपयुक्त होइन।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।